भारतीय विदेश मन्त्री खुर्सिदको नेपाल भ्रमणको क्रममा उनलाई भेट्न नेपालका पुर्वप्रधानमन्त्रीहरू मर्यादा मिचेर गए भन्ने बहस भईरहँदा बरिष्ठ पत्रकार विजयकुमारको कान्तीपुरमा प्रकाशित यो लेख अत्यन्त मन परेकाले साभार गर्न चाहन्छु:- ...अहिले भूतपूर्व प्रधानमन्त्रीको खेदो खन्ने हावा चलेको छ । यो मौसम भारतका विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भम्रणका दौरानमा 'द्वारिका होटल परेड' पछि उत्पन्न भएको हो । मर्यादाक्रमसम्बन्धी यस्तो मौसमी वायु बगेको यो पहिलोपटक होइन । बुँदागत रूपमा कुरा राख्दा बेस होला:
१) भूतपूर्व प्रधानमन्त्रीहरूलाई नेपालको मर्यादाक्रमअनुसार बहालवाला राज्यमन्त्रीभन्दा माथि, क्याबिनेट मन्त्रीसँगै राख्ने परम्परा छ । यस अर्थमा तिनीहरूले क्याबिनेट तहको विदेशी मन्त्रीलाई भेट्न जानु कुनै आकाश खस्ने कुरा हुन सक्दैन । हो, एकपछि अर्को, अनि अर्कोपछि अर्को, गरेर उनीहरू बत्तीसपुतली पुगेको दृश्य उदेकलाग्दोचाहिँ अवश्यमेव देखिन्थ्यो ।
यस्तै दृश्य मैले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारतको राष्ट्रपति भवनमा बस्दा देखेको थिएँ । विश्वनाथप्रसाद सिंह प्रधानमन्त्री थिए । भूपूप्रधानमन्त्री राजीव गान्धीलगायत अनेक पार्टीका अध्यक्षहरू एकपछि अर्को गर्दै उनलाई भेट्न आए । दुई मन्त्रीले त किशुनजीको खुट्टा नै छोए । एक जनाको नाम अहिले पनि सम्झन्छु, शरद यादव । त्यसै साँझ किशुनजीले ठट्यौली पारामा भन्नुभयो, 'मसँग आएका मेरा मन्त्री साहनाजी र डा. देवेन्द्रराज पाण्डेले झुक्किएर विश्वनाथ प्रतापको खुट्टा छोएको भए काठमाडौंमा बसिनसक्नु हुन्थ्यो ।'
शरद यादवले किशुनजीप्रति गरेको सम्मान उनी नेपालका प्रधानमन्त्री हुन् भनेर थिएन । त्यति 'प्रोटोकल' को ज्ञान शरद यादवलाई थिएन भन्ने मूर्खता म गर्न चाहन्न । भारतीय सरकारी मर्यादाक्रममा महात्मा गान्धीको कुन स्थान थियो ? कुनै स्थान
थिएन । समाजवादी नेता शरद यादवले किशुनमा महात्माको छायाँ देखेर उनलाई त्यसरी सम्मान दिएका थिए । संविधानतः गणेशमान सिंहको कुनै स्थान थिएन । प्रोटोकलमा कुनै पनि स्थान नलेखिए तापनि नेपाली जनताले उनलाई कुनै राजा वा प्रधानमन्त्रीभन्दा कम आदर दिएनन् । कुनचाहिँ प्रोटोकलअन्तर्गत अमेरिकी राष्ट्रपति जर्ज बुसले ओभल अफिसमा गणेशमानजीलाई त्यत्रो स्वागत गरे ?
२) के म यो भन्न खोज्दैछु, सलमान खुर्सिदको उपस्थितिमा भएको 'द्वारिका परेड' उचित थियो ? होइन, उदेकलाग्दो थियो । भविष्यमा के गर्ने त ? एक उपाय, भूपूप्रधानमन्त्रीहरूले कुनै विदेशीमन्त्री भेट्दै नभेटे टन्टै सकियो । तर यो व्यावहारिक हुन सक्दैन । दोस्रो उपाय 'भेट्ने भए म भएको ठाउँ आउ' भन्ने । पाहुनाले मानिदिए त राम्रै हो । हिमाल हेर्ने निहुँमा नेपाल छिर्ने फुर्सदिला विदेशीमन्त्रीबाहेक अरूका निम्ति यो दोस्रो विकल्प स्वीकार्नु सजिलो छैन । किनभने छ-छ महिनामा प्रधानमन्त्री फेरिने ठाउँमा भूपूप्रधानमन्त्रीहरूको संख्या सानो हुँदैन ।
फुर्सदिला विदेशीमन्त्रीहरूबाहेक अरू पाहुनालाई पूर्वमा बालकोटदेखि पश्चिममा डल्लु हुँदै उत्तरमा बूढानीलकण्ठ र दक्षिणमा कोटेश्वरको दिनभरि चक्कर काट्न रुचि नलाग्न पनि सक्छ । त्यसमाथि ट्राफिक र सुरक्षाको प्रश्न आफ्नो ठाउँमा छँदैछन् ।
तेस्रो उपाय, अन्तरिम संविधानमा थप एक थान संशोधन गरी हाम्रा भूपूप्रधानमन्त्रीहरूको मर्यादाक्रम संसारमा कहीं नभएको गरी स्तरोन्नति गर्ने । त्यसपछि आगन्तुक अतिथि हाम्रा भूपूका घरमा जान बाध्य हुन्छ, जसरी ऊ आज बालुवाटार वा शीतलनिवास जान बाध्य छ । चौथो उपाय, हाम्रा भूपूले आफ्नै विवेकले भन्ने 'लाइन लागेर परेडमा सामेल हुन मलाई अप्ठ्यारो लाग्छ । मलाई क्षमा गर्नुस् । म कुनै सहायक नेतालाई पठाउँछु ।'
पाँचौं बाटो, सलमान खुर्सिदहरूलाई नेपाल आउँदा कम्तीमा तीन दिनका लागि नेपाल आउन अनुरोध गर्ने । खुर्सिदले एकैदिन सबैलाई भेट्नुको साटो दिनमा दुईजना भूतपूर्व प्रधानमन्त्रीहरू भेटेका भए दृश्य अलि सहज देखिन्थ्यो । जस्तो, नेपालका नेताहरू दिल्ली जाँदा तीन-चार दिनको अन्तरालमा राजनाथ सिंहदेखि मनमोहन सिंहसम्म भेट गरेर र्फकन्छन् । हुन त, त्यसो गर्दा कुरा एउटै हो, तर परेड गरेझैं देखिन्न । सार त एउटै हो, रूप फरक देखिन्छ ।
३) केही साताअघि चिनियाँ स्टेट काउन्सिलर नेपाल आए । चिनियाँ प्रोटोकलमा उनको हैसियत उपप्रधानमन्त्रीजस्तो छ । उपराष्ट्रपति परमानन्द झा आफैं सोल्टी होटल पुगे । तर, उपराष्ट्रपतिज्यूबाट प्रोटोकलको गुनासो सुनिएन । उपराष्ट्रपतिलगायत यिनै सबै भूतपूर्वहरू लामबद्ध भएर चिनियाँ स्टेट काउन्सिलरको भाषण श्रवण गरे । स्टेट काउन्सिलरको 'संयुक्त कक्षा' मा सहभागी भएबापत भूपूज्यूहरूले कुनै नकारात्मक टिप्पणीको सामना गर्नु परेन ।
सलमान खुर्सिद प्रकरणबाट भारतीय दूतावासले शिक्षा लिनुपर्छ । भूपूप्रधानमन्त्रीज्यूहरूलाई होटलमा परेड खेलाउनु राम्रो कि स्टेट काउन्सिलरले जस्तो संयुक्त कक्षा लिनु राम्रो ? द्वारिका होटलको परेडपश्चात् भारतप्रति वा आफ्ना नेताप्रति नेपाली जनतामा सद्भाव बढ्यो वा घट्यो ?
४) रुक्मांगद कटवाल सेनापति थिए । अमेरिकाका भूपूराष्ट्रपति जिम्मी कार्टर नेपाल आए । नेताहरू उनलाई भेट्न लहरै सोल्टी पुगे । कार्टर सेन्टरका मान्छेले रुक्मांगद कटवाललाई पनि सोल्टी गएर कार्टर भेट्ने निम्ता दिँदै भने, 'तपाइर्ंका सबै नेता त्यहाँ पुगेकै छन्, तपाईं पनि जानुस् ।' कटवालले विनम्रतापूर्वक निम्तो अस्वीकार गर्दै आफ्नो अफिसमा मात्र भेट्न सकिने बताए । त्यसपछि कार्टर सेन्टरका मान्छेले भने, 'त्यसो भए तपाईं उहाँलाई आफ्नो निवासमा ब्रेकफास्टको निम्तो दिनुस् ।' कटवालले त्यो 'अफर' पनि स्वीकारेनन् । अन्ततः कार्टर सेनापति कटवाललाई भेट्न सैनिक मुख्यालय पुगे । आफ्नो इज्जत गर्नेको सबैले इज्जत गर्छन् ।
५) पञ्चायतकालमा राजाहरू प्रधानमन्त्रीलगायत सबै नेपालीलाई 'तिमी' भनेर बोलाउँथे । धेरै वर्ष जेलमा कोचिएपछि बीपी कोइरालाको महेन्द्र राजासित भेट भयो । भेटबारे गणेशमान सिंहले सोधे, 'तपाईंलाई राजाले तिमी भन्यो वा तपाईं भनेर बोलायो ?' बीपीले जवाफ दिए, 'मलाई राजाले के भनेर बोलाए भन्ने कुरा मुख्य होइन । म सबै नेपालीलाई राजाले तपाईं भनेर सम्बोधन गरून् भन्ने अवस्थाका निम्ति संघर्षरत छु भन्ने कुरा सर्वोपरी हो ।'
६) अर्कोपल्टदेखि काठमाडौं आउँदा भारतीय विदेशमन्त्रीले सबै भूपूप्रधानमन्त्रीको घर-घरमा पुगेर भेट गरे पनि त्यसले स्थितिमा कुनै तात्विक फरक पार्ने छैन । पूरा, राजाले बीपीलाई एकछिन् तपाईं भनेर बाँकी सबै जनतालाई चाहिँ तिमी भन्दै गए जस्तै मात्र हुनेछ, त्यो ढोका-ढोका धाउने काम । हो, बाहिरी 'रूप' मा हेर्दा 'द्वारिका परेड' जस्तो उदेकलाग्दो नदेखिएला तर 'सार' उही रहनेछ । बीपी कोइरालाले चुरो बुझेका थिए, जबसम्म जनता सार्वभौम भएर सम्मानित हुँदैनन्, तबसम्म उनको व्यक्तिगत मान र अपमानको कुनै अर्थ छैन ।
खुर्सिद आए, चुनाव गराउनुस्, भारतको सहयोग रहनेछ भनेर गए । वैद्यजीलाई चीनमा पनि त्यही भनेर पठाइयो । भूपी शेरचनले भनेझैं 'हामी आफू मिल्नै नसक्ने, कसैले मिलाइदिनुपर्ने ।' आफ्नो घर झगडालाई चौतारीमा पुर्याएपछि छिमेकी बोले भनेर केको रुवाबासी ? रुवाबासी गर्नुपर्ने वा रडाको मच्चाउनुपर्ने विषय त्यो होइन ।
रुवाबासी गर्नै पर्ने विषय त पछिल्लो तथ्यांक हो । नेपालको आर्थिक वृद्धिदर न्यूनतममा झरेको छ, मूल्यवृद्धि अधिकतममा छ । हाम्रा दाजुभाइ, दिदी-बहिनीहरू बम्बईदेखि खाडीका मरुभूमिमा आफूलाई जलाउन बाध्य छन् । रुवाबासी हुनुपर्ने, हामीले अपमानित महसुस गर्नुपर्ने विषय त्यो हो । यो कठोर यथार्थ कायम रहुञ्जेल चाहे द्वारिकाको परेड होस् वा सोल्टीको सामूहिक कक्षा, के फरक पर्छ र सामान्य जनतालाई ?
विश्वेश्वरप्रसाद कोइराला पनि यही देशमा प्रधानमन्त्री भए । तर आफ्नो नामका अगाडि भूपूप्रधानमन्त्री टाँसेर प्रोटोकलको ब्याज खाने प्रयत्न कहिल्यै गरेनन् । बीपीलाई भूतपूर्व प्रधानमन्त्री भन्नु उनको विराट व्यक्तित्वको अपमान हो । आज बाँचेका भए शायद भन्ने थिए, 'केको मान/अपमानको रुवाबासी मच्चाएको हँ ? मेरा दाजु दिदी-बहिनीहरूको जीवन यस्तो अपमानित र कष्टपूर्ण भएको बेला मेरो व्यक्तिगत मान/अपमानबारे बहस गर्नुको के अर्थ छ ?'
यो बेग्लै कुरा हो, बाँचेका भए, उनलाई द्वारिका परेड वा सोल्टीको सामूहिक कक्षामा निम्ता दिने साहस न भारतीय दूतावासले गथ्र्यो, न चिनियाँले । किनभने भारत र चीन दुवैले बीपीलाई इज्जत गर्थे । त्यो इज्जत उनले स्वयं आर्जन गरेका थिए, न कि मागेका थिए । 'यु डोन्ट डिमान्ड रेस्पेक्ट, यु कमान्ड रेस्टपेक्ट' भन्ने महावाक्य उनै जस्ता मानिसका निम्ति रचिएको हो । त्यसैले त उनी बीपी कोइराला भए ।
(Source: www.ekantipur.com)
Writer: Vijay kumar
Language: Nepali